महेन्द्रनगर । नजिकिएको दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज १५ गतेबाट सुपथ मूल्य पसल सञ्चालन गरेको छ । सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसल सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेल्धुरामा राखिएको छ । कञ्चनपुरको महेन्द्रनगर, बेलौरी, कैलालीको टिकापुर, धनगढी र डडेल्धुरामा सुपथ मूल्य पसल सञ्चालन गरिनेछ ।
सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन तथा दुग्ध विकास संस्थाका सामग्री पाइने छ । उक्त सुपथ मूल्य पसलमा खाद्यान्न, तेल, चिनी तथा तरकारी पाइने छ । केही रुपैयाँ छुटसहित दैनिक उपभोग्य वस्तु किन्न पाइने सुपथ मूल्यका पसलहरु आउँदो मंसिर ६ गतेसम्म सञ्चालन हुनेछन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो, डिलर तथा घुम्ती पसलमार्फत् सुपथ मूल्य पसल सुरु गरिएको हो । सहुलियत पसलमा चामलमा प्रतिकिलो पाँच रुपैयाँ, नुनमा प्रतिकिलो दुई रुपैयाँ, बासमती चामल, गेडागुडी र कर्णालीको सिमीमा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ ।
चिनीमा प्रतिकेजी पाँच रुपैयाँ छुट पाइने छ । त्यस्तै च्यांग्र्रा र खसी–बोकामा जिउँदो मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट दिइने छ । उपभोक्ताहरुले डीडीसी घिउमा प्रति लिटर ३० रुपैयाँ छुट पाउने छन् ।

Hariyo Nepal is an online portal that basically focuses on environment related stuffs. It also covers various other topic of interest.