महेन्द्रनगर । हात्तीको बथानले लालझाडीको एक सामुदायिक वनको कार्यालय भवन भत्काएको छ । हात्तीको बथानले लालझाडी गाउँपालिका–५ मा रहेको अपि सामुदायिक वनको कार्यालय भवन भत्काएको हो ।
सोमबार राति हात्तीको बथानले सामुदायिक वनको कार्यालय भवन भत्काएको सामुदायिक वनका अध्यक्ष दिवानसिंह धामीले बताए । उनका अनुसार हात्तीको बथानले सामुदायिक वनको भवनको भित्ता, कार्यालयमा राखिएका कुर्सि, बाल्टि, कागजपत्र, घाँसे मैदानमा लगाइएको तारबार र खानेपानीको लागि निर्माण गरिएको अटिजन बोरिङमा क्षति गरेको छ ।
‘लालझाडी क्षेत्रमा हात्तीको बथान आएको १ महिना भयो,’ उनले भने, ‘हात्तीको बथानले प्रत्येक वर्ष सामुदायिक वन तथा बस्तिमा क्षति गर्छ ।’ अहिले पनि हात्तीको बथान सामुदायिक वन क्षेत्रमै भएको उनी बताउँछन् । ‘हात्तीको बथान अहिले पनि सामुदायिक वनमै छ,’ उनले भने, ‘सामुदायिक वन नजिक रहेका बस्तीका सम्पूर्ण उपभोक्तालाई सर्तक रहन आग्रह गर्दछौं ।’
यसैगरी डिभिजन वन कार्यालय कञ्चनपुरले अपि सामुदायिक वन उपभोक्ता समितिलाई कम्प्युटर र प्रिन्टर वितरण गरेको छ । सामुदायिक बन उपभोक्ता समूहको संस्थागत क्षमता अभिबृद्धि गरि कार्यालय सञ्चालनमा सहजता ल्याउन अपि सामुदायिक वनलाई कम्प्युटर र प्रिन्टर वितरण गरेको डिभिजन वन अधिकृत अजय बिक्रम मानन्धरले बताए ।
‘सामुदायिक वन कार्यालयलाई प्रविधिमा जोड्नलाई कम्प्युटर र प्रिन्टर वितरण गरेका छौं,’ उनले भने, ‘डिभिजन वन कार्यालयले प्रत्येक वर्ष सामुदायिक वनलाई कम्प्युटर र प्रिन्टर वितरण गर्दै आएका छौं ।’

Hariyo Nepal is an online portal that basically focuses on environment related stuffs. It also covers various other topic of interest.