Home विशेष रिपोर्ट सुदूरपश्चिममा विपद् : तराइमा बाढी, पहाडमा पहिरो

सुदूरपश्चिममा विपद् : तराइमा बाढी, पहाडमा पहिरो

– जीवन विष्ट
धनगढी । वर्षायाम सुरु भएसँगै सुदूरपश्चिममा बढ्दै गएको प्राकृतिक विपद्का घटनाले स्थानीय त्रसित छन् । तराईमा बाढी र पहाडमा पहिरोले दर्जनौँ घर ढुवानमा परेका छन् । पहाडी क्षेत्रमा घर मात्रै पुरिएका छैनन् नागरिकले ज्यानसमेत गुमाइरहेका छन् ।

विपदसम्बन्धी पूर्वतयारी र यसको दीर्घकालीन उपाय नखोजिँदा वर्षेनि विपद्बाट जनधनको ठूलो क्षति हुने गरेको छ । वर्षा लागेपछि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पहिरोको जोखिम बढेको छ । यो वर्ष पछिल्लो १ महिनाको अवधिमा सुदूरपश्चिममा विपद्का घटनाबाट ९ जनाको मृत्यु भइसकेको छ, भने लाखौँको क्षति भएको छ ।

केदारस्यूँ गाउँपालिका– ८ मल्लेसीमा १ साताअघि खसेको पहिरोमा परेर ७ जना र जयपृथ्वी नगरपालिका-७, सुवेडामा पहिरोकै कारण १ बालकको मृत्यु भएको थियो ।  डोटीमा पहिरोमा च्यापिएर ६ महिने शिशुको मृत्यु भएको थियो ।

पहाडमा पहिरोको वितण्डा
गत शुक्रबार राति १ बजेतिर केदारस्युँ गाउँपालिका–८, मल्लेसीमा पहिरो आयो । गाउँमा पहिरो आएको कुरा सबैभन्दा पहिले २२ वर्षीय गिरिजा जेठाराले थाहा पाए । उनले गाउँमा पहिरो आएको भन्दै कराउन थाले । जेठाराले सबैलाई कराएर उठाएर भगाए तर, आफैँ भाग्न पाएनन् ।

१९ असार राति आएको पहिरोमा बेपत्ता भएका २२ वर्षीय जेठारा १ सातासम्म पनि भेटिएका छैनन् । पहिरोमा पुरिएका ६ जनाको शव शनिबार नै फेला परिसकेको थियो । आइतबारसम्म उनको अवस्था अज्ञात रहेपछि अहिले खोजी कार्य नै रोकिएको छ ।

‘२ दिनसम्म खोज्दा पनि भेटिएन,’ बझाङका प्रमुख जिल्ला अधिकारी कमल राज भण्डारीले, ‘पहिरोले बगाएर कता पु¥यायो, अब भेटिँदैन होला भनेर उद्धार टोली फर्किसक्यो ।’ घटनामा ६ जनाले ज्यान गुमाएका छन् भने १८ परिवारको घर र जिन्सी सम्पत्ति पूर्ण रूपमा बगाएको छ ।

दर्जनौं परिवार विस्थापित
बझाङको केदारस्यूँ गाउँपालिका– ८ मल्लेसीमा असार १९ गते राति पहिरोले जनधनको ठूलो क्षति ग¥यो । १८ परिवार विस्थापित नै हुनुप¥यो । ६ जनाले ज्यान गुमाए १ जना अझै हराइरहेका छन् । उक्त पहिरोमा दर्जनौँ पशु चौपाया मरेर लाखौँको धनजनको क्षति पनि भयो ।

यो प्रतिनिधि घटना मात्रै हो, वर्षेनि आइरहेको विनाशकारी पहिरोले जनधनको ठूलो क्षति गरिहरेको छ । पहिरोका कारण बैतडीको दोगडाकेदार गाउँपालिका–४ कपिन्नास्थित दमथला टोलका देवदत्त भट्टको परिवार विस्थापित भएको छ । महाकाली कोरिडोरअन्तर्गत निर्माण भएको सडकले पहिरो खसेपछि भट्टको परिवारलाई तत्कालका लागि अर्को घरमा स्थानान्तरण गरिएको छ ।

सो ठाउँमा अन्य ७ परिवार पनि पहिरोको जोखिममा परेका छन् भने मकै लगाएको खेत पनि पहिरोले बगाउँदै लगेको वडा नम्बर ४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद भट्टले बताए । वडा नं ८ मा पनि पहिरोले १५ घर जोखिममा परेको वडा नं ८ का वडाध्यक्ष आनन्दसिंह बोहराले बताए ।

बस्ती तलतिर पहिरो खसेपछि माथि रहेका घरहरू जोखिममा परेका हुन् । गत वर्ष पनि सुर्नया गाउँपालिका–८ को मल्लोढोलेमा पहिरोले ६ घरपरिवार विस्थापित भएका थिए ।

तराइमा बाढीको कहर
१८ असारको राति आएको बाढीले कैलालीको दक्षिणीक्षेत्रका ३ दर्जन बढी घर प्रभावित बने । बाढी घरभित्रै पस्दा कतिपय विस्थापितको अवस्थामा पुगेका छन् । बाढीका कारण जोशीपुरका स्थानीय हीरालाल चौधरीको घर नै भत्किएपछि अहिले उनको बिचल्ली भएको छ ।

घरपरिवारका सबै सदस्यसहित आफन्तकोमा शरण लिन बस्न बाध्य छन्, उनी । स्थानीय तहलगायतका सम्बन्धित निकायबाट सामान्य राहतसम्म पाएका छैनन् । वर्षासँगै नदीमा पानीको बहाव बढ्दा कैलाली, कञ्चनपुरमा डुबान हुन थालेको छ । सामान्य वर्षातको बाढीले पनि घर डुबाएपछि स्थानीयको बिचल्ली भइरहेको छ । वर्षाको बेला कैलालीको धनगढी, घोडाघोडी, भजनी, जोशीपुर, बर्दगोरीयालगायतका क्षेत्र सधैँ डुबानमा पर्ने गरेका छन् ।

कञ्चनपुरको बेल्डाडी, बेलौरी, महाकालीलगायतका क्षेत्रमामा पनि बाढीले आतंक नै मच्चाउने गरेको छ । वर्षेनि आउने प्राकृतिक विपत्तिबारे थाहा हुँदाहुँदै पनि सधैँ व्यवस्थापनमा चुक्ने सरकारले पीडितको घाउमा मलहमसमेत लगाउन सकेको छैन । बाढी पहिरोको मौसम सुरु भएपछि मात्रै त्यसको व्यवस्थापनबारे सोच्ने सरकारले विपत्तिको दीर्घकालीन उपाय र योजना अवलम्बन गर्न सकेको छैन ।

महाकालीवासी त्रासमा
२०७० सालमा पूर्वसूचनाविना नै भारतको उत्तराखण्डस्थित पिथौरागढमा रहेको धौलीगंगाको बाँध खोलिएपछि महाकाली नदीमा बाढी आयो । त्यो बेला दार्चुला सदरमुकामका सयौँ घर तथा दर्जन सरकारी कार्यालय बगाउँदा अर्बौंको क्षति भयो । महाकालीमा पानीको बहाव बढ्दा महाकाली तटीय क्षेत्रका सयौँ परिवार विस्थापित भए ।

महाकालीको तटबन्ध बलियो नबन्दा बाढीले वितण्डा मच्चाएको स्थानीय वीरेन्द्र जैसीले सम्झिए । ‘त्यतिबेला विस्थापित भएका परिवार अझै पुनर्स्थापना हुन सकेका छैनन्, उनले भने, ‘फेरि, त्यस्तै घटना दोहोरिने होकी डर लाग्छ ।’ अर्का स्थानीय हर्क थापाको पीडा पनि उस्तै छ । उनी भन्छन्, ‘भारतले ढोका खोल्दिन्छ, हामी डुबानमा पर्छौँ, पूर्वसूचना नहुँदा ठूलो क्षति बेहोर्नुपर्छ ।

७ वर्षपहिलेको जस्तो बाढी आयो भने त्योभन्दा धेरै ठूलो धनजनको क्षति भन्दै उनी चिन्तित छन् ।’ ३ तहका निर्वाचनमा यहाँका स्थानीयको पहिलो मुद्दा नै महाकाली र जोग बुढा नदीमा पक्की तटबन्ध निर्माण हुनुपर्ने थिए । तर, उनीहरूले चासो नदिएकै कारण समस्या ज्यूँका त्यूँ छन् ।

१० वर्षमा ९९८ जनाको मृत्यु
पछिल्लो १० वर्षको अवधिमा भएका प्राकृतिक तथा गैरप्राकृतिक विपदका घटनामा ५० हजार ९६८ परिवार प्रत्यक्ष प्रभावित भए । ती घट्नामा ७८५ मानिस घाइते भए भने १ हजार ३७९ घरहरू पूर्ण र ६ हजार ९४१ घरहरू आंशिक रूपमा क्षतिग्रस्त बने ।

सुदूरपश्चिम प्रदेश सरकारले तयार पारेको प्रदेश विपद् कार्य योजनाअनुसार प्रदेशमा सन् २०१० देखि २०१९ सम्म प्रदेशमा प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपका ३ हजार ११५ वटा घटना भएका छन् । प्रदेश सरकारले पछिल्लो १० वर्षको अवधिमा विपद्का विभिन्न घटनामा परी ९९८ जनाको मृत्यु भएको र १७१ जना बेपत्ता भएको जनाएको छ । सो अवधिमा भएका प्राकृतिक तथा गैरप्राकृतिक  घटनामा ५० हजार ९६८ घर परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।

ती घटनामा ७८५ मानिस घाइते भएका छन् भने १ हजार ३७९ घरहरू पूर्ण र ६ हजार ९४१ घरहरू आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । उक्त अवधिमा सुदूरपश्चिम प्रदेशमा १२३ वटा बाढीका घटनामा ५६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएको जनाइएको छ । त्यस्तै, १ सय ७१ चट्याङका घटनामा ६६ जनाको मृत्यु भएको जनाइएको छ । यस अवधिमा प्रदेशभित्र पहिरोका १४४ र हावाहुरीका १२१ घटना भएका थिए ।

विपद् व्यवस्थापन कहाँ चुक्यो सरकार ?
सुदूरपश्चिममा अहिले पनि बाढी र पहिरोको क्षति नियन्त्रण गर्न खासै पहल भएको पाइएको छैन । ३ तहका सरकारबीच समन्वय हुन सकेको छैन । सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपद्का घटना बढ्दै गइरहेका छन् । सरकारले विपद् व्यवस्थापनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी बन्न सकेको छैन ।

पछिल्लो १ महिनामा मात्रै विपद्का घटनाबाट ९ जनाले ज्यान गुमाएका छन् । प्रदेशमा प्राकृतिक तथा गैर प्राकृतिक विपद्का घटनामा वर्षेनि जनधनको ठूलो क्षति हुने गरेको छ । तर, पहिरोको जोखिम र विपद्को तयारी भने निकै सुस्त छ ।

विपद् व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकार तैनाथ रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले बताए । विपद् व्यवस्थापनका लागि भन्दै प्रदेश सरकारले सुदूरपश्चिमका ९ वटै जिल्लामा खोज तथा उद्धार सामग्री खरिदका लागि ८४ लाख रुपैयाँ विनियोजन गरेको थियो । सोही रकमबाट सुदूरपश्चिमका ९ वटै जिल्ला प्रशासन कार्यालयले सामग्री खरिद गरिसकेको मन्त्री शाहले जानकारी दिए ।

मन्त्री शाहले विपद् व्यवस्थापनमा प्रदेश सरकार लागी परेको दाबी गरे । सुदूरपश्चिम प्रदेशमा भूकम्प, बाढी तथा पहिरो, डुबान, चट्याङ, खडेरी, हिमपात, असिना पानी, हिम पहिरो, अतिवृष्टि, अनावृष्टि, हुरी बतास, शीतलहर, तातो हावा (लु), वन डढेलो आदि प्राकृतिक प्रकोपका घटनाहरू वर्षेनि बढिरहेका छन् ।

यस्तै सडक दुर्घटना, महामारी, अनिकाल, कीट वा सूक्ष्म जीवाणु, जङ्गली जनावर आतङ्क, पशु तथा चराचुरुङ्गीमा हुने फ्लू, सर्पदंश, जनावर आक्रमण, खानी हवाई, जल तथा औद्योगिक दुर्घटना, आगलागी, विषाक्त खाद्य सेवन, वातावरणीय प्रदूषण, वन विनाशलगायतका गैरप्राकृतिक प्रकोपका घटनाहरू वर्षेनि बढिरहेका छन् ।

ताजा समाचार

सिएफसिसि कञ्चनपुरले प्रत्येक वर्ष हात्ती दिवस मनाउने

महेन्द्रनगर । सामुदायिक वन समन्वय समिति कञ्चनपुरले प्रत्येक वर्ष असोज २२ गते हात्ती दिवस मनाउने भएको छ । कृष्णपुर नगरपालिका–२ को जनहित सामुदायिक वनमा...

पशुपन्छीको अधिकार हनन भयो : सरोकारवाला

धनगढी । विश्व पशुपन्छी दिवस २०७७ को अवसरममा धनगढीमा आयोजित एक कार्यक्रममा सरोकारवालाले पशुपन्छीको हक अधिकार हनन भएको गुनासो गरेका छन् ।  भेटेनरी अस्पताल...

सुपथ मूल्य पसल सञ्चालन

महेन्द्रनगर । नजिकिएको दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज १५ गतेबाट सुपथ मूल्य पसल सञ्चालन गरेको छ । सरकारले सञ्चालन गरेको...

‘सुदूरपश्चिम प्रदेशको विकास बजेट मन्त्रीकै जिल्लामा’

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को (क)बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा उम्मेवारी दिएपछि मत माग्न गाउँ–गाउँमा पुग्नुभयो । चुनावको क्रममा तपाईले स्थानीयलाई धेरै आश्वासन दिनु...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here