महेन्द्रनगर । वर्षातको समयमा चुरे क्षेत्र भएर बग्ने नदी तथा खोलाहरुमा अत्यधिक बाढी आउछ । नदी तथा खोलाहरुमा आउने बाढीले कञ्चनपुरको ठूलो क्षेत्रमा भूक्षयीकरण हुन्छ ।
भारतबाट बग्ने जगबुढा नदी, कञ्चनपुरको महाकाली, दोदा, स्याली, चौधरी, सुनबरा नदी र खन्यखोला, झरनाखोला, मुसेपानीखोला, कामीकाटे खोलालगायत खोलाले बर्सेनि निजी, सार्वजनिक जमिन क्षयीकरण गरिरहेको पाइन्छ । तर, क्षयीकरण रोक्ने प्रभावकारी कार्यक्रम नहुँदा नदी कटानी रोकीएको छैन ।
विभिन्न सरकारी कार्यालय र गैरसरकारी संस्थाहरूले वर्षेनी करोडौं रकम खर्च गर्ने गरेपनि भूक्षयीकरण रोकिएन । चुरे क्षेत्रबाट बग्ने नदी तथा खोलाहरुमा आउने बाढीका कारण बर्सेनि कञ्चनपुरमा जमिन कटानी भइरहेको स्थानीय राजेन्द्र जोशी बताउँछन् ।
‘चुरे क्षेत्र भएर बग्ने नदीहरुले कञ्चनपुरको दक्षिण क्षेत्रमा बढी क्षति पु¥याउँछ,’ उनले भने,‘प्रदेश सरकार, केन्द्र सरकार र स्थानीय सरकारको लागनीमा तटबन्ध गरिएपनि जमिन कटानी रोकिएको छैन ।’ चुरे भएर बग्ने नदी तथा खोलाहरुमा बर्खाको समयमा बाढी आई डुबान तथा कटानबाट धेरै धनजनको क्षति हुने गरेको उनको भनाई छ ।
दोदा नदीमा आउने बाढीले लालझाडी क्षेत्रमा प्रत्येक वर्ष कटानी गर्ने गरेको लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले बताए । ‘दोदा नदी आउने बाढीले २०६५ सालदेखि लालझाडी क्षेत्रमा कटानी गरिरहेको छ,’ उनले भने,‘नदी कटानी रोकथामका लागि विभिन्न प्रसाय भएपनि नियन्त्रण गर्न सकिएको छैन ।’
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुर, जनताको तटबन्ध कार्यालय र भूसंरक्षण कार्यालयले प्रत्येक वर्ष जोखिमयुक्त क्षेत्रमा तटबन्ध गर्ने गरेको छ । तर, नदी कटानी भने रोकिएको छैन ।
बस्ती जोगाइन्छ तर वनजंगलको सत्यानाश
वर्षातमा प्रत्येक वर्ष आउने बाढीले नदीसँग जोडिएका निजि तथा सार्वजनिक जमिनमा क्षति पु¥याउँछ । बाढी पु¥याउने क्षति नियन्त्रणका लागि बस्ती नजिकका क्षेत्रमा तटबन्ध गरिन्छ । तर, बस्ती नभएका सार्वजनिक तथा वन क्षेत्रमा भने तटबन्ध गरिदैन ।
नदी तथा खोलाहरुमा आउने बाढीले क्षति पु¥याउने बस्ती नजिक तटबन्ध गरेपनि नदीले कटान गरिरहेको सार्वजनिक तथा वन क्षेत्रमा तटबन्ध नहुने गरेको सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशदत्त जोशीले बताए । ‘अहिलेसम्म विभिन्न सरकारी कार्यालय तथा संघसंस्थाले मानव बस्ती नजिक भइरहेको नदी कटानी रोकथाममा प्राथमिकता दिएको छ,’ उनले भने,‘तर मानवलाई समेत सुरक्षित गर्ने वन क्षेत्रको संरक्षणमा कसैको ध्यान गएको छैन ।’
मानव बस्ती जोगाउन गरिने तटबन्धका योजनालाई प्राथमिकता दिदै सार्वजनिक क्षेत्रको संरक्षणमा पनि जोड दिनुपर्ने उनको भनाई छ । ‘अब मानव बस्तीको संरक्षणसँगै नदीले कटान गरिरहेको सार्वजनिक जग्गा तथा वन क्षेत्रमा पनि तटबन्ध गर्नुपर्छ,’ उनले भने,‘यसका लागि हामीले पहल गरिरहेका छौं ।’
अहिले कञ्चनपुरमा भूक्षय नियन्त्रणका लागि भूसंरक्षण कार्यालय डडेल्धुरा, जनताको टतबन्ध, राष्ट्रपति संरक्षण कार्यक्रम र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले नदी कटानको उच्च जोखिममा रहेका बस्तीमा टतबन्ध गरिरहेको छ ।
स्थानीय र प्रदेशसभा सदस्यको माग अनुसार जोखिमयुक्त बस्तीमा तटबन्ध गर्ने गरेको भूसंरक्षण कार्यालय डडेल्धुराका प्रमुख पुष्पराज जोशीले बताए । ‘प्रदेश सरकारले बनाएका योजनामा यस कार्यालयले काम गर्छ,’ उनले भने,‘प्रदेश सरकारले नै मानव बस्तीलाई प्राथमिकतामा राखेको हुन्छ, नदीले कटान गर्ने मानव बस्ती नभएका क्षेत्रको संरक्षण गर्ने जिम्मेवारी पनि हामीहरुको हो । तर बजेट अभावका कारण मानव बस्ती नभएका क्षेत्रमा तटबन्ध गर्न सकिएको छैन ।’
प्रदेश सरकारले योजना बनाउँदा बस्तीको संरक्षणसँगै अन्य क्षेत्रको संरक्षणका लागि बजेट विनियोजन गर्नुपर्ने उनको भनाई छ । ‘प्रदेश सरकार केन्द्र सरकारले विनियोजन गरेको बजेट थोरै हुन्छ,’ उनले भने,‘त्यसैले मानव बस्ती जगाउन कार्यलाई प्राथमिकता दिइन्छ, प्रयाप्त बजेट भयो भने काम गर्न सहज हुन्छ ।
वातावरण विनास प्रमुख कारण
भूक्षयीकरण रोक्नका लागि डिभिजन वन, जनताको तटबन्ध, भूसंरक्षण एवं सिँचाइ डिभिजनसहित केही स्थानीय तह प्रत्यक्षरूपमा लागे पनि वातावरण विनासका कारण क्षति नरोकिएको सरोकारवालाले बताएका छन । चुरे क्षेत्रमा अवैध वन फडानी, चुरे क्षेत्रका नदी तथा खेलमा जथाभावी ढुंगा उत्खननले क्षयीकरण भइरहेको उनीहरूको भनाइ छ ।
डिभिजन वन कार्यालय कञ्चनपुरले क्षयीकरण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा वृक्षारोपण गर्दै आएपनि वातावरण विनासले नदी कटानी नरोकिएको डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थी बताउँछन् । ‘नदी कटानीको प्रमुख कारण वातावरण विनास नै हो,’ उनले भने,‘नदी कटानी रोक्नका लागि सबैले वातावरण संरक्षणका जोड दिनु आवश्यक छ ।’
प्राकृतिक स्रोतहरुको जथाभावि उत्खननका कारणले भूक्षयको खोजिम बढेको सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य महेशदत्त जोशी बताउँछन् । ‘ वातावरण सम्पूर्ण प्राणीका लागि साझा घर हो, वातावरणमा नै प्राणीको अस्तित्व अडिएको छ,’ उनले भने,‘प्राकृतिक प्रकोपबाट बच्नको लागि भएपनि वातावरणको संरक्षण गर्नु आवश्यक छ ।’

Hariyo Nepal is an online portal that basically focuses on environment related stuffs. It also covers various other topic of interest.