महेन्द्रनगर । बस्ती जोगाउनका लागि शुक्लाफाँटा नगरपालिकाको सुनबरा नदीमा तटबन्ध निर्माण थालिएको छ । चुरे भएर दक्षिणतर्फ बग्ने सुनबरा नदीको शुक्लाफाँटा नगरपालिकाका ३ ठाउँमा तटबन्ध निर्माण गरिँदै छ । शुक्लाफाँटा नगरपालिका २, ३, ४ नक्बर वडाका तीन बस्तीमा तटबन्ध निर्माण गरिन लागेको हो ।
बर्सेनि सुनबरा नदीले शुक्लाफाँटा नगर क्षेत्रका बस्ती र उर्वराभूमि कटानी गर्दै लगेपछि स्थानीयले सरकारी निकायमा तटबन्ध निर्माणका लागि माग गर्दै आएका थिए । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरमार्फत शुक्लाफाँटा नगर २ ढकनिया, ३ हल्दुघाट र ४ आशापुरमा तटबन्ध निर्माण भएको हो ।
सुनबरा तटबन्ध निर्माण उपभोक्ता समितिका अध्यक्ष जीवन धामीले कटानीको उच्च जोखिममा रहेका तीन स्थान छनोट गरी सोही स्थानमा तटबन्ध निर्माण गरिएको बताए । उनका अनुसार ढकनियामा एक सय ५० मिटर, हल्दुघाटमा दुई सय मिटर र आशापुरमा दुई सय १० मिटर तटबन्ध निर्माण भएको छ ।
‘तीनै ठाउँमा स्परसहित पाँच सय ६० मिटर लम्बाइ तटबन्ध निर्माण गरिएको हो,’ उनले भने, ‘तटबन्ध निर्माणमा स्थानीय जुटेका छन् ।’ बर्सेनि सुनबरा नदीमा आउने बाढीले उर्वराभूमि कटानी गर्दा स्थानीय पीडित बन्दै आएका थिए । यहाँका किसानले नदी कटानीका कारण खेतमा लगाएको बाली भित्र्याउन नपाउँदै नदीले खेत कटानी र बाली बगाएर लग्ने समस्या झेल्दै आएका थिए ।
तटबन्ध निर्माण भएपछि बस्ती र उर्वरा खेत संरक्षण हुने अध्यक्ष धामीले बताए । शुक्लाफाँटा नगरपालिका– २ का वडाध्यक्ष शिवराज पनेरूले सुनबरा नदीको कटानीको समस्या मध्यनजर गर्दै वडाले समेत योजना छनोट गरेर सम्बन्धित निकायमा पेस गरेको बताए । ‘वडाको बजेटले यत्रो ठूलो नदी कटानी नियन्त्रणमा सम्भव थिएन,’ अध्यक्ष पनेरूले भने, ‘हामीले सम्बन्धित ठाउँमा कटानी रोक्नका लागि निर्णय गरेर बजेटको माग गरेका थियौँ ।’
तीन वडाका तीनै ठाँउमा नदी नियन्त्रणका लागि तटबन्ध निर्माण भएपछि कटानी रोकिने र कटानी रोकिँदा बस्ती, उर्वराखेती संरक्षण हुने उनको भनाइ छ । ‘बस्तीतर्फ तटबन्ध भएपछि पानीको बहावले थप कटानी गर्न सक्दैन,’ उनले भने, ‘नदीपारितिर जंगल छ ।’
तटबन्ध गरिएका क्षेत्रमा वृक्षरोपणका लागि वडाले स्थानीयसँग आह्वान गर्ने बताउँदै अध्यक्ष पनेरूले तटबन्ध दिगो बनाउन वृक्षरोपणसमेत आवश्यक रहेको बताए । ‘कटानीको उच्च जोखिमा रहेको सुनबरा नदीको माथिदेखि तलसम्म दुवैतिर बलियो तटबन्ध गर्नुपर्छ,’ उनले भने, ‘अहिले त केही स्थानमा मात्रै तटबन्ध गरियो ।’

Hariyo Nepal is an online portal that basically focuses on environment related stuffs. It also covers various other topic of interest.